यो चुनाव संविधान जोगाउने र मास्नेबीचको जनमत संग्रह हो : दाहाल

 प्रदेश तथा संघ निर्वाचन २०७९     २०७९, ३० कार्तिक बुधबार १५:४७     89 जनाले पढ़िसके



Spread the love

मोरङ — नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संविधान जोगाउने र मास्नेबीचको जनमत संग्रह भएको बताएका छन् ।

मोरङ क्षेत्र नं ६ (१) को गछियाचोकमा आयोजित लोकतान्त्रिक वाम गठबन्धनको बृहत आमसभामा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । यस क्रममा उनले देशमा प्रतिगमनविरुद्ध फेरि आन्दोलन गर्नु नपारेस् भन्ने सम्झेरै यसपटक मतदान गर्न सबैलाई आह्वान गरेका थिए।

मुलुकमा जनताले पहिलोपटक अधिकार पाएको संविधानको रक्षा, स्थिरता र आर्थिक विकासका लागि लोकतान्त्रिक वाम गठबन्धन बनेको भन्दै उनले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेर जिताउन आग्रह गरेका थिए । ‘देशमा जनताको खुन, पसिनाले लेखिएको संविधानको रक्षा र स्थिरता ठूलो अपेक्षा छ,’ उनले भने, ‘यसको लागि लोकतान्त्रिक वाम गठबन्धनले नै मुलुकमा आवश्यक समग्र आर्थिक विकास गर्छ ।’

संविधानको रक्षा, स्थिरता र समृद्धिलाई लोकतान्त्रिक वाम गठबन्धनले मूल नारा बनाएर अघि बढेको दाहालले बताए । ‘देशमा राजनीतिक परिवर्तन र घोषणा त धेरै भए तर जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने गरी आर्थिक विकास र समृद्धिको गति त्यही रुपमा लिन सकेन । त्यसकारण आर्थिक क्रान्ति नहुँदा राजनीतिक परिवर्तन दिगो हुने गरेको छैन । त्यसैले यसपटक चुनावपछि बन्ने गठबन्धनको सरकारको मुख्य उद्देश्य आर्थिक विकास नै हुनेछ ।’ फोटो : फाईल