दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले संविधान पार्टी भन्दा कयौँ गुणा ठुलो रहेको धारणा व्यक्त गरेका छन।
सत्ता गठबन्धनले विहीबार आयोजना गरेको राप्ती गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘नयाँ संविधान बनाउन कुनै भूमिका नखेलेकाहरुलाई अथवा संविधानै चाहिन्न भन्नेहरुलाई त यी सबै उपलब्धीहरू सामान्य लाग्लान् तर हिजो हाम्रा अग्रजहरू, शहीदहरू र स्वयम् हामी सहभागी भएर लडेर ल्याएको यो ब्यवस्था, यो संविधान चानचुने सङ्घर्षबाट प्राप्त भएको होइन उनले बताए ।’
नयाँ संविधानले समाजका सबैखाले वर्ग, तह र तप्काका जनताका मुद्दा सम्बोधन गरेको बताउँदै मन्त्री चौधरीले तत्कालीन प्रधानमन्त्री केपी ओलीले जनमतको अपमान गरेको बताए ।
‘एक जना सन्की, एक जना मूर्ख शासकको हातमा मुलुक पुग्दा सबै बर्बाद भयो । साराका सारा उपलब्धीहरू गुम्ने खतरा पैदा भयो । र एक जना जननिर्वाचित सांसद हुनुको नाताले हामीले संविधान पार्टी भन्दा कैयौँ गुणा ठुलो कुरा हो भन्ने महसुस गर्यौँ । त्यसैकारण जोखिम मोल्न हामीहरु तयार भयौँ ।’ मन्त्री चौधरीको भनाई थियो । सत्ता गठबन्धन दलका कार्यकर्ताहरुलाई प्रदेश मन्त्री इन्द्रजित थारु, समानुपातिक उम्मेदवार शुशिला चौधरी, बुद्धिजीवी देव नारायण चौधरी लगायतले सक्रियतापूर्वक चुनावी माहोल निर्माणमा लाग्न निर्देशन दिएका थिए ।