काठमाण्डाै – निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवम् गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ (ख) बाट उम्मेदवार रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण सोधेको छ ।
उम्मेदवार गुरुङले चुनाव खर्चका सम्बन्धमा निर्वाचन आयोगले ३३ लाख रुपैयाँभन्दा धेरै खर्च गर्न हुँदैन भनेकोमा गुरुङले ३० लाख रुपैयाँले चुनाव नजित्ने बरु मनाङमा मनाेनयन गर्न जाँदा नै १५ लाख रुपैयाँको रक्सी खाइदिन्छ भनेर दिएको अभिव्यक्तिकाे श्रव्य/दृष्य सामग्री प्राप्त भएको भन्दै स्पष्टीकरण साेधिएकाे आयाेगले जनाएको छ ।
आयाेगले यसबारेमा गुरुङलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय मनाङमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनेकाे छ ।