बुटवल — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको वलिदानबाट आएको लोकतन्त्र नै खतरामा परेपछि कम्युनिस्टहरूलाई पनि साथ लिएर देश बचाउन गठबन्त्रन गर्नुपरेको बताएका छन् । उनले यो गठबन्धन चुनाव जित्नका लागि चुनावसम्मका लागि मात्र नभएर देश र व्यवस्था बचाउनका लागि वर्षौंसम्म रहने दाबी गरे ।
शुक्रबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय ५ दलीय गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रममा उनले पवित्र उद्देश्यले गठबन्धन गरिएकाले गठबन्धन पार्टीभित्र शंका उपशंका नगर्न र सबैलाई मतदान गर्न आग्रह गरे ।
‘गठबन्धन दलभित्र शंका–उपशंका वा बहानाबाजी चल्दैन । जो जो उम्मेदवार उठ्नुभएको छ जिताउनुपर्छ,’ देउवाले भने, गठबन्धन दलभित्र एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्नुपर्छ ।’प्रधानमन्त्री देउवाले ठूलो बलिदानी गरेर राजतन्त्र फालेर लोकतन्त्र ल्याएको स्मरण गराउँदै अहिलेको गठबन्धन नै सच्चा राष्ट्रवादी लोकतन्त्रवादी र समाजवादी भएको बताए । उनले भने, ‘लालसलाम पनि हामी हौं, जय नेपाल पनि हामी हौं । अभिवादन पनि हामी हौं । हामी नै राष्ट्रवादी हौं ।’ देउवाले जनताको घरघरमा पुगेर गठबन्धनको पक्षमा जनमत सिर्जना गर्न पनि कार्यकर्तालाई निर्देशन दिएका थिए । देउवाले गठबन्धनले जितेर सरकार बनेपछि धेरै कुरा मिल्न सक्ने भन्दै एक–आपसमा शंका र बेइमानी गर्दा ठूलो नोक्सानी बेहोर्नुपर्ने भएकाले त्यसतर्फ सचेत रहन पटकपटक आग्रह गरेका थिए । ‘आपसमा भ्रम भयो भने सबैभन्दा बढी क्षति हामीलाई नै हुन्छ । प्रचण्डजीलाई पनि विश्वास दिलाउनु छ,’ उनले भने ।