सत्तारुढ पाँचदलीय गठबन्धनले आजै सीट र निर्वाचन क्षेत्र बाँडफाँटको अन्तिम टुंगो लगाउने भएको छ । सोमवार बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सीट बाँडफाँट टुंगो लगाउने गरी अन्तिम तयारी गरिरहेको गठबन्धनमा रहेका दलमध्येका एक शीर्ष नेताले जानकारी दिए ।
बिहानैदेखि छलफलमा जुटेका नेताहरू अहिले खाना खानका लागि छुट्टिएका छन् ।
‘दिउँसो १ बजे फेरि बैठक बस्ने गरी खाना खानका लागि बैठक स्थगित गरेका छौं । सीट र निर्वाचन क्षेत्रको बाँडफाँट प्याकेजमा टुंगो लगाएर आजै सहमति पत्रमा हस्ताक्षर गर्छौं’, तीन नेताले भने ।
गठबन्धनमा सीट बाँडफाँटको सहमतिको खाका तयार भएको र दिउँसो शीर्ष नेताहरूको बैठकले त्यसलाई अन्तिमरूप दिने ती नेताले बताए ।
सीट बाँडफाँटको विषयलाई लिएर गठबन्धनभित्र रहेका दलमा असन्तुष्टि बढेको थियो । पछिल्ला छलफलमा ती असन्तुष्टिलाई पनि सकेसम्म सम्बोधन गर्ने प्रयास गरिएको ती नेताले बताए ।
यसअघि नेपाली कांग्रेसलाई ८५, माओवादी केन्द्रलाई ४४, एकीकृत समाजवादीलाई १७ र जनता समाजवादीलाई १५ र राष्ट्रिय जनमोर्चालाई २ सीट दिने गरी मोटामोटीरूपमा सीट बाँडफाँटको हिसाब निकालिएको थियो ।
पछिल्लो छलफलमा यो संख्यामा पनि सामान्य हेरफेर भएको बताइएको छ ।
गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले सीट बाँडफाँटमा असन्तुष्टि राखेर चुनावी तालमेलको लागि एमालेसँग पनि संवाद अघि बढाएको थियो ।
आइतबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जसपा अध्यक्ष उपेन्द्र यादवलाई फकाउने प्रयास गरेका थिए ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।