शेखर समूहको बानेश्वरमा खबरदारी सभा, देउवाले न्यायोचित व्यवहार नगरे गठबन्धनमा समस्या आउने चेतावनी

 संवाददाता    २०७९, ८ आश्विन शनिबार १५:५४     77 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला समूहले आज बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाभनमा टिकट वितरणमा संस्थापना समूहलाई दबाब दिन नेता शेखर र महामन्त्री गगन समूहले खबरदारी सभा आयोजना गरेको हो । सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा जारी छ ।

सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्ट जनाउँदै आएका छन् । यही क्रममा दबाब दिने उदेश्यले शनिबार भेला आयोजना गरेको स्रोतको भनाइ छ । सभापति देउवाले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट बाँडफाँडमा एकलौटी गरेको बिषयले कांग्रेसभित्र तनाव सुरु भएको छ ।सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटमा सहमति नभएका बेला कांग्रेसभित्र भने दुई समूहबीच नै समस्या देखिएको छ । शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ । शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाव दिंदै आएको छ । साथै आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ ।खबरदारी भेलाले समानुपातिकको सूची सच्याउन दबाब दिने र प्रत्यक्षतर्फको टिकट वितरणमा आफ्नो समूहलाई समेट्न दबाब बढाउने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं युवा नेता इन्द्रबहादुर रिजालले बताए । नेता रिजालका अनुसार सभापति देउवाले इतर समूहलाई बेवास्ता गरेर अगाडि बढ्ने नीति लिएपछि यसविरुद्ध भेलामार्फत दबाब दिन लागिएको हो ।बन्दसूची पेस गर्ने क्रममा इतर समूहसँग सल्लाह नगरी सभापति देउवा पक्षले एकपक्षीय रूपमा आयोगमा सूची बुझाएको इतरको आरोप छ । इतरले तालमेल गरेर जाँदा कांग्रेसले सय सिटभन्दा कम सिट लिन नहुने र कांग्रेसले पाउने सिटको ४० प्रतिशत आफ्नो समूहले पाउनुपर्ने माग राख्दै आएको छ ।