काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली प्रहारबाट ज्यान गुमाएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मद १० वर्ष जेल बसेर निस्केको खुलेको छ । सोमबार साँझ अज्ञात व्यक्तिहरुले पछ्याएर सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदलाई गोली प्रहार गरेका थिए । उनको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली लागेको छ । उपचारको क्रममा उनको त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।२०६४ असार २० मा काठमाडौंको अनामनगरस्थित धोबिखोलामा बाराका बलराम पटुवाको गोली प्रहारबाट हत्या भएको थियो । सो घटनामा प्रहरीले लाल मोहम्मद र पप्पु गुप्तालाई पक्राउ गरेर मुद्दा चलाएको थियो । पटुवालाई गोली हानेको आरोप लागेका अर्का व्यक्ति मुन्ना खान भनिने इल्ताव हुनेस अन्सारी पनि २०६६ मा पक्राउ परेका थिए । भारतीय जाली नोट कारोबारबारे विवाद हुँदा लाल मोहम्मदको समूहले पटुवाको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सोही मुद्दामा अदालतले लाल मोहम्मदलाई १० वर्ष कैद सजाय गरेको थियो । सो सजाय भुक्तान गरेर उनी छुटेका हुन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार मोहम्मद लगायतका समूहले पाकिस्तान र बंगलादेशबाट नक्कली भारतीय नोट ल्याएर भारतमा पठाउने गरेका थिए ।
कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा मोहम्मद दर्जीले ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट चलाएका छन् । भाडामा लिएको घरको एउटा तलामा गार्मेन्ट छ, माथिल्लो तलामा उनी परिवार सँग बस्दै आएका थिए ।
जोरपाटीबाट कपडा प्याक गर्ने प्लाष्टिक लिएर फर्केका उनलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लिनासाथ दुई जनाले गोली हानेर भागेका हुन् । मोहम्मदका परिवारले अनुसन्धानमा प्रहरीलाई असहयोग गरेका छन् । मोहम्मदले बोक्ने मोबाइल उनका परिवारले प्रहरीलाई दिन अस्वीकार गरेका छन् ।
उनको साथमा नेपाल कम्युनिष्ट पार्टीको परिचयपत्र फेला परेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।
सिसिटिभी फुटेजमा रातो रङको शर्ट र जिन्स पाइन्ट लगाएका युवकले लखेटेर उनलाई अन्धाधुन्ध गोली प्रहार गरेको देखिएको छ । गाडी वरिपरि भागेका मोहम्मदले केहीबेर प्रतिकारको प्रयास गरेका छन् ।
घटना थाहा पाएर छोरी घरको दोस्रो तलाबाट हाम्फालेपछि सुटर भागेको दृश्य सीसी क्यामरामा कैद भएको छ ।