मन्त्रिपरिषद्का पूर्वाध्यक्ष खिलराज रेग्मीले राजनीतिलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इमान्दारिता, कर्मशीलता, त्याग र सेवाभाव भएका सक्षम व्यक्तिको मापदण्ड बनाई उम्मेदवार छनौट सुझाव दिएका छन् । आठौँ संविधान दिवसका अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले मतदातालाई पनि उपयुक्त पात्रको छनौट गर्ने नागरिक कर्तव्यबाट नचुक्न सल्लाह दिएका हुन् ।सन्देशमा पूर्वप्रधानन्यायाधीश रेग्मीले भनेका छन्, “आज संविधान आठौँ वर्षमा प्रवेश गर्दै गर्दा तीनै तहको पाँचवर्षे कार्यकालको एक चरण पूरा भई अर्को चरणको निर्वाचनको मुखैमा आइपुगेका छौँ । अहिले हाम्रो कमजोर धरातल किन भयो दलहरुले नै समीक्षा गर्नु जरूरी छ ।”
उनले अब निर्वाचनपश्चात् पनि उस्तै स्थिति रह्यो र देशले अग्रगमन, सुशासन र समृद्धिको सही मार्ग पहिल्याउँदै अघि बढ्न सकेन भने जनताको निराशा र आक्रोशलाई कसरी चित्त बुझाउन सकिएला भनी प्रश्न गर्दै त्यसतर्फ अहिलेदेखि नै सोच्न जरूरी रहेको उल्लेख गरेका छन्।
अध्यक्ष रेग्मीले सन्देशमा भनेका छन्, “संविधान दिवस मनाउनुको सार्थकता संविधान अनुकूलको आचरण, कार्यान्वयन र स्थायित्वमै रहन्छ । यस दिवसले हामी सबैलाई संविधानले निर्दिष्ट गरेको गन्तव्यमा समर्पित हुन अभिप्रेरित गरोस् भन्ने कामना गर्दछु ।”