काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवद्र्धन अनिवार्य सर्त भएको बताएका छन । संविधान दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान पालनमा केही चुनौतीहरु देखापरे तापनि संविधानको कार्यान्वयनमा सन्तोषजनक अवस्था बताएका छन।
सार्वभौम संविधानसभाबाट संविधान जारी भएको २०७२ असोज ३ गते नेपाली इतिहासकै सुनौलो दिन भएको उल्लेख गर्दै उनले आजको दिन प्राप्त गर्न भएका विभिन्न कालखण्डका जनआन्दोलन, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलन र अन्य आन्दोलनका शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन । उपराष्ट्रपति पुनले सङ्घर्षका घाइते अपाङ्ग योद्धाहरूप्रति सम्मानसहित स्वास्थ्य लाभको कामना गरेका छन ।
“यो ऐतिहासक दिनमा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन गर्दै आफ्नो अधिकारहरूलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न अपील गर्दछु”, उनले सन्देशमा भनेका छन, “बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी व्यवस्थालगायत नेपाली जनताको अधिकारलाई संविधानले संस्थागत गरेको छ ।”
उपराष्ट्रपति पुनले संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प लिइएको जनाएका छन।