काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले बहानाबाजी नगरी प्रमाणीकरण गर्नुपर्नेमा बताएका छन्। प्रतिनिधिसभाको अन्तिम बैठक सम्बोधन गर्दै डा. भट्टराईले नागरिकता विधेयकलाई बहानाबाजी गरेर रोक्न नहुने बताएका हुन्।
उनले नागकिरता विधेयकका बारेमा छुद्र काम कसैले नगर्न पनि आग्रह गरे। ‘म आग्रह गर्न चाहन्छु यस्तो प्रवृत्तिको छुद्र काम हामीले नगरौं,’ डा. भट्टराईले भने।
उनले भने, ‘नागरिकता विधेयक अब कुनै पनि बहाना नगरी छिटो जारी गर्नु पर्छ,’ भट्टराईले भने, ‘मलाई विश्वास छ राष्ट्रपतिज्यूले पारित गर्नुहुनेछ।’ नागरिता विधेयकको मुद्दालाई दलहरुले दलीय, गुटीय र क्षेत्रीय आधारमा लम्ब्याइरहेको उनको भनाइ थियो। उनले थपे, ‘अहिले नागरिकता विधेयकको कुरो आइराखेको छ। एउटा सामान्य विषयमा नागरिकता प्रत्येक नागरिकले पाउने सामान्य नैसर्गिक अधिकार हुन्थ्यो नि। त्यस्तो विषयमा पनि हामी किन विवाद गरिराखेका छौं? किन दलीय आधारमा, गुटीय आधारमा, क्षेत्रीय आधारमा यो मुद्दा हामीले लम्ब्याइ राखेका छौं?’