दुवै देश मिलेर सम्झौता कार्यान्वयनमा लैजानुपर्छ : राष्ट्रपति भण्डारी र लि भेट

 संवाददाता    २०७९, २९ भाद्र बुधबार १९:५९     90 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई नेपाल–चीनबीच भएका सम्झौताहरुलाई कार्यान्वयनमा लानका लागि आग्रह गरेकी छन् । शीतल निवासमा बुधबार आयोजित शिष्टाचार भेटवार्तामा आएका अध्यक्ष लीलाई राष्ट्रपति भण्डारीले दुई मुलुक बीच हालसालै भएका सम्झौताहरुलाई कार्यान्वयनमा लगे नेपालको विकासमा टेवा पुग्ने पनि बताएकी हुन् ।

‘चीन सरकारले कार्यान्वयनका सम्बन्धमा सद्भावपूर्वक विचार गर्ने छ,’ राष्ट्रपति भण्डारीलाई उदृत गर्दै प्रेस विज्ञ टीका ढकालले भने ।

राष्ट्रपतिले नेपाल एक चीन नीतिमा अडिग रहेको उल्लेख गर्दै चीनले नेपाललाई दिँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । उनीहरुबीच बुधबार दिउँसो ४ देखि ५ बजेसम्म भेटवार्ता भएको थियो ।

अध्यक्ष लीले नेपालतर्फका केरुङ र तातोपानी नाकाहरु तत्काल सञ्चालन हुने जानकारी दिएका थिए । प्रेस विज्ञ ढकालका अनुसार अध्यक्ष लीले राष्ट्रपति भण्डारीसमक्ष आफूले नाकाहरु सञ्चालनका लागि उपप्रधानमन्त्री र यो क्षेत्रको क्षेत्रीय व्यापार हेर्ने अधिकारिसँग कुराकानी गरिसकेको जानकारी दिए । अध्यक्ष लीले भने,‘आजै कुराकानी गरेको हो । तत्कालै नाकाहरु सुचारु हुन्छन् । त्यस बारेमा हाम्रो राजदूत (होउ यान्छी) ले नेपाल सरकारलाई जानकारी दिनेछिन् ।’अध्यक्ष लीले राष्ट्रपति भण्डारीको नेतृत्वमा महिला सहभागिताका लागि नेपालले हासिल गरेको प्रगति अनुकरणीय रहेको उल्लेख गर्दै यसबाट विश्वले सिक्न सक्ने बताए ।