खुम्बुको विकासको पहल गर्नेछु : मन्त्री चौधरी

 मेटमणि चौधरी     २०७९, २८ भाद्र मंगलवार १४:१८     105 जनाले पढ़िसके



Spread the love

सोलुखुम्बु– सहरी विकास मन्त्री मेटमणि चौधरीले खुम्बु पासाङ ल्हामु गाउँपालिका–४,पाङ्बोचेमा नवनिर्मित खुम्जुङ स्वास्थ्य चोकीको उद्घाटन गरेकाछन् ।

सो अवसरमा उनले सर्वाेच्च शिखर सगरमाथाको काखमा आउन पाउँदा निकै खुसी लागको बताए । ‘खुम्बुबासीको माया म भुल्ने छैन,’ उनले भने, ‘यति सुन्दर ठाउँमा पर्यटक भित्र्याउन म पनि लागिपर्नेछु ।’

विकासको काममा दलभन्दा माथि उठ्नुपर्ने उनले बताए । ‘भोलि पदमा रहँुला वा नरहँुला तर खुम्बुको विकासमा सधैँ पहल गर्नेछु,’ उनले भने, ‘यहाँको जनताको विकासको चाहना पुरा गर्न लागिपर्नेछु ।’

कुल ३ करोड ६९ लाख(भ्याट बाहेक)लागतमा निर्मित स्वास्थ्य चौकी सिएम कन्स्ट्रक्सन प्रालि जोरपाटीले निर्माण गरेको हो । १८ महिनामा सम्पन गर्ने भनेर सम्झौता भएको सो भवन ११ महिनामै सम्पन्न गरेकोमा मन्त्री चौधरीले ठेकेदार कम्पनीको प्रशंसासमेत गरे । १२ हजार ८७५ फिटको उचाइमा निर्मित सो भवन सम्भवतः नेपालकै सबैभन्दा उचाइमा निर्मित सरकारी भवन हो ।

सो अवसरमा मन्त्री चौधरीले सात सय वर्ष इतिहास भएको पाङ्बोचे गुम्बाको निरिक्षण गर्नुका साथै यसको पुननिर्माणका लागि ७ करोड विनियोजन गर्ने घोषणा समेत गरे ।

त्यसैगरी ङिमदोर्जे पर्यटन सडकको स्तरोन्नतीका लागि २० करोड, गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि १२ करोड, हिमाली सहर लुक्लालगायत अन्य तीन सहरको विकास विस्तार गर्न र एकीकृत बस्ती विकासकालागि डिपिआरदेखि हाइ अल्टिच्युड स्पोर्ट सेन्टर तथा कन्फेरेन्स हल निर्माणका लागि ८ करोड विनियोजन गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् ।