यस्तो छ हिजो आइपुगेका चिनियाँ जनकांग्रेसका अध्यक्ष लीको आजका कार्यक्रम

 संवाददाता    २०७९, २८ भाद्र मंगलवार ०९:२२     217 जनाले पढ़िसके



Spread the love

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शुबीच आज बिहान नौ बजे सङ्घीय संसद् भवनमा भेटवार्ताको कार्यक्रम तय भएको छ । यसैगरी सङ्घीय संसद् भवनमा नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता हुनेछ ।

सङ्घीय संसद् भवनमा नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको छ । यस्तै आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग सोल्टी होटलमा भेटवार्ताको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्नेछन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्नेछन । अध्यक्ष लीले भक्तपुर दरबार क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

नेपालको चार दिने भ्रमणका क्रममा अध्यक्ष ली हिजो अपराह्न यहाँ आइपुगेका हुन । सभामुख सापकोटाको निमन्त्रणामा यहाँ आएका अध्यक्ष ली चिनियाँ कम्युनिष्ट पार्टीको दोस्रो तहका शीर्ष नेता हुन । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि यहाँ आउने शीर्ष चिनियाँ नेतामध्ये उनी एक हुन।

अध्यक्ष लीको सम्मानमा सभामुख सापकोटाद्वारा रात्रिभोज

सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शुको सम्मानमा साँझ रात्रिभोजको आयोजना गरे । यहाँ आयोजित रात्रिभोजमा सभामुख सापकोटाले सङ्घीय संसद्को नेतृत्वको आमन्त्रणमा नेपाल भ्रमण गरेकोमा अध्यक्ष लीप्रति आभार प्रकट गरे ।

उनले यस्तो उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने र जनता जनताबीचको सम्बन्धमा समेत नयाँ आयाम विस्तार हुने विश्वास व्यक्त गरे ।

चिनियाँ जनकंग्रेसको अध्यक्षका रुपमा नेपाल भ्रमण गर्ने आफू नै पहिलो व्यक्ति भएको भन्दै लीले नेपालले गरेको आमन्त्रण र स्वागतप्रति धन्यवाद व्यक्त गरे । नेपालका तर्फबाट आफूले पाएको न्यानो स्वागत र आथित्यताप्रति उनले कृतज्ञता व्यक्त गरे ।

रात्रिभोजमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री बालकृष्ण खाण, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, सङ्घीय सांसद्का सांसदहरू, पराष्ट्र मन्त्रालयका अधिकारी सङ्घीय संसद् सचिवालयका महासचिव एवं कर्मचारी, लब्ध प्रतिष्ठित व्यक्ति एवं सञ्चारकर्मीको सहभागिता थियो ।

त्यसअघि सभामुख सापकोटा र अध्यक्ष ली बीच सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा छ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सभामुख सापकोटा र अध्यक्ष ली बीच भेटवार्ता सकिएपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो ।

भेटवार्ताका क्रममा सभामुख सापकोटाले नेपालको आर्थिक विकासमा चीन सरकार र चिनियाँ जनताका तर्फबाट उपलब्ध गराइएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । कोरोना महामारीका समयमा चीन सरकारको तर्फबाट उपलब्ध सहयोगप्रति पनि सभामुखले आभार प्रकट गरेका थिए ।

सभामुख सापकोटाले नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको तथा नेपालको भूभागमा चीन विरोधी गतिविधि हुन नदिने पूर्ववत् मान्यताको समेत स्मरण गरे ।

अध्यक्ष लीले चीन सदैव नेपालको स्वतन्त्रता, सार्भभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै निरन्तर सहयोग र सहकार्यमा रहेकोे बताएका थिए । दुई देशबीच बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रतिबद्ध रहेकोसमेत त्यस अवसरमा विचार आदान प्रदान भएको थियो ।

यस्तै त्यस अवसरमा चिनियाँ राष्ट्रपतिले अगाडि बढाएको बीआरआईका विषयमा समेत छलफल भएको थियो । संयुक्त सहमतिमा पनि सो विषयले स्थान पाएको छ ।

यस्तै, सहयोग आदानप्रदानका विविध विषयका अलावा नेपालको आर्थिक विकास एवं समृद्धिका विविध आयामका बारेमा पनि महत्वपूर्ण छलफल भएको थियो ।