गठबन्धन सरकार वीपीको सिद्धान्तअनुरूप अघि बढेको छ : पाैडेल

 काँग्रेस     २०७९, २४ भाद्र शुक्रबार १९:१९     102 जनाले पढ़िसके



Spread the love

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सरकार वीपीको सिद्धान्तअनुरूप अघि बढेको बताउनुभएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले आज शुक्रवार दमौलीमा आयोजना गरेको १०९ औँ वीपी जयन्ती तथा जनताका साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रममा उहाँले वीपीको मूल सिद्धान्त राष्ट्रिय एकता र मेलमिलापको नीति रहेकाले अहिलेको गठबन्धन सरकार त्यहीअनुरूप चलेको स्पष्ट पार्नुभयो ।

‘वीपीले देखाएको मार्गलाई कांग्रेसले अवलम्बन गर्दै अघि बढेको छ’, उनले भने, ‘यदि सिद्धान्त विपरीत हिँडेको भए अहिले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउँदैन थियो ।’

वीपीले जसरी जनतालाई शक्तिशाली बनाउन लागे त्यहीअनुरूप जनताको सपना साकार पार्न कांग्रेसले अहम् भूमिका निर्वाह गर्दै आएको उनले बताए । उनले देशमा सङ्कट देखापर्दा कांग्रेसले निकास र बाटो देखाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको र आउँदा दिनमा पनि अवलम्बन गर्दै अघि बढ्ने प्रण व्यक्त गरे ।

अबको अभियान भनेको पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु मुख्य उद्देश्य रहेकाले पार्टीका सबै तह र तप्काबाट सक्रिय भएर लाग्न उनले निर्देशन दिए । फोटो : फाइल