बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ

 #अन्तरास्ट्रिय     २०७९, २४ भाद्र शुक्रबार ०८:०८     146 जनाले पढ़िसके



Spread the love

७० वर्षसम्म देशको शासन सम्हालेकी ब्रिटिश महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा स्कटल्याण्डको बाल्मोरलमा निधन भएको छ।

बिहीवार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए।

महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन्।

उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन्।

निधन

एउटा विज्ञप्ति जारी गर्दै बकिङ्गम दरबारले भनेको छ, ”आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ। राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज बाल्मोरलमै बस्नेछन् र भोलि लन्डन फर्कनेछन्।”

चिकित्सकहरूले महारानीलाई चिकित्सकीय निगरानीमा राखेपछी उनका सबै सन्तानहरू एबरडीन नजिकैको बाल्मोरलमा गएका थिए।

महारानीको निधनको घोषणा हुँदा उनको नाति राजकुमार विलियम पनि त्यहाँ थिए भने अर्का नाति राजकुमार ह्यारी बाटोमा नै रहेका थिए।

महारानी एलिजाबेथ द्वितीयाबाट मंगलबार मात्रै पदभार ग्रहण गरेकी ब्रिटेनकी प्रधानमन्त्री लिज ट्रसले “महारानी आधुनिक ब्रिटेन निर्माण भएको चट्टान जस्तै भएको र उनले हामीलाई आवश्यक स्थीरता र शक्ति प्रदान गरेको” बताएकी छन्।

नयाँ राजाका बारेमा बोल्दै उनले भनिन्ः ” हामी उनी समक्ष उनको आमाले यति लामो समयसम्म यति धेरै मात्रामा व्यक्त गरेको जसरी नै हाम्रो बफादारी र समर्पण प्रस्तुत गर्दछौँ”

“र दोस्रो एलिजाबेथ युगको अन्त्यसँगै हाम्रो महान् देशको उल्लेखनीय इतिहासमा हामी नयाँ युगको स्वागत गर्दछौँ, सम्भवतः ठीक महारानीले चाहना गरेको जस्तै गरी र भन्छौँ गड सेभ द किङ् (ईश्वरले राजाको रक्षा गरुन् )।” बिबिसीबाट साभार