सन्दीप बसेको नगरकोट र सिनामंगलको होटलबाट प्रहरीले लियो सीसीटीभी फुटेज

 संवाददाता    २०७९, २२ भाद्र बुधबार १६:२८     92 जनाले पढ़िसके



Spread the love

बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्धका प्रमाण संकलन सुरु गरेको छ। उनी बसेको भनिएका नगरकोट र काठमाडौंका होटलका सीसीटीभी फुटेज संकलन गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले बताए।

‘हाम्रो टोली बिहान नगरकोट पनि गएको थियो। यहाँको होटलमा पनि सीसीटीभी फुटेज लगायतका आवश्यक प्रमाण प्रहरीले संकलन गरिरहेको छ,’ एसएसपी बोहराले भने, ‘हामी अहिले प्रमाण संकलनमा केन्द्रितत छौँ।’

प्रहरीले होटल सञ्चालकसँग सोधपुछ, होटलमा भएको दर्ता लगायत काम पनि गरिरहेको छ।

प्रहरीका अनुसार सन्दीप दुवै ठाउँका होटलमा पुगेको सीसीटिभीबाट पनि पुष्टि भएको छ। भदौ ५ गते राति सिनामंगलको होटलमा पसेको र बिहान त्यहाँबाट गएको पनि फुटेजमा देखिएको छ।

‘उनीहरु राति त्यहाँ गएको र भोलिपल्ट बिहान सँगै बाहिरिएको फुटेजमा देखिन्छ। ६/७ घण्टा बसेर निस्किएको देखियो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने।

भदौ ५ गते राति सन्दीपले बलात्कार गरेको भन्दै १७ वर्षीया किशोरीले मंगलबार जाहेरी दिएकी छिन््।

केन्या भ्रमणमा जानु अघिल्लो दिन सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेको र राति होटलमा लगेर बलात्कार गरेको किशोरीको आरोप छ।

सन्दीपको विषयमा बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले पनि छलफल गरिरहेको छ। क्यानको निर्णयपछि उनको आगामी खेल गतिविधिबारे निर्णय हुनेछ। क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने बताए।