प्रतिनिधि सभाको कार्यकाल मंसिर ४ गतेसम्म लम्ब्याउने निर्णयबाट सरकार पछि हटेको छ ।कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले मंगलवार प्रतिनिधि सभा बैठकमा विधेयक फिर्ता गर्ने बताए ।
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि प्रतिनिधि सभामा भएको दफावार छलफलमा उठेका प्रश्नको जवाफका क्रममा मन्त्री कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवा समेत कार्यकाल लम्ब्याउन नहुने पक्षमा रहेको बताएका हुन् ।
‘प्रतिनिधि सभाको अन्योलतालाई क्लीयर गर्नको लागि पवित्र उद्देश्यका साथ ल्याइएको थियो,’ मन्त्री शर्माले भने, ‘गठबन्धनले यो विषयमा कानून ल्याउन उपयुक्त हुँदैन भनेकाले यसमा सरकार संशोधन प्रस्ताव स्वीकार गर्ने तहमा गएको व्यहोरा जानकारी गराउँछु ।’
यसअघि सरकारले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन भएर पहिलो बैठक बसेपछि अहिलेको प्रतिनिधि सभाको कार्यकाल सकिने गरी केही नेपाल ऐन संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा पेश गरेको थियो ।
प्रतिनिधि सभाको कार्यकाल सम्बन्धी ३ विधेयकबाहेक सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्य कानून भने संशोधन हुने भएका छन् ।