भारतीय सेनाप्रमुखद्दारा नेपाली सेनालाई २२ करोड ३८ लाख बराबरका सैन्य सामग्री हस्तान्तरण

 संवाददाता    २०७९, २० भाद्र सोमबार १४:१८     112 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित रु २२ करोड ३८ लाखको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरेका हुन् ।

विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णयानुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहबीच उनले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

समारोहमा उनले प्रधानसेनापति प्रभुराम शर्मालाई ती सामग्री उल्लेख भएको फाइल हस्तान्तरण गरेका थिए । निश्चित प्रतिशत नेपाली सेनाको समेत लगानी रहेका हातहतियारका पाटपूर्जा, १० वटा विस्फोटक पदार्थ नष्ट गर्ने कार्यमा प्रयोग हुने सवारीसाधन (माइन प्रोटेक्टेड भेइकल) तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

सहयोगस्वरुप प्राप्त घोडा उन्नत प्रजननका साथै विभिन्न सैनिक प्रयोजनमा उपयोग हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । यसअघि सैनिक मुख्यालय जङ्गी अड्डामा आजै प्रधानसेनापति प्रभुराम शर्मासँग उनले भेटवार्तासमेत गरे । पाँच दिने भ्रमणका लागि आइतबार नेपाल आएका सेनाध्यक्ष पाण्डेको सम्मानमा आज बिहान सेनाको एक टुकडीद्वारा सम्मान गारत अर्पण गरिएको थियो ।

उनले आजै जङ्गी अडडा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे । त्यसअघि बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी भारतीय सेनाध्यक्ष पाण्डेले श्रद्धाञ्जली अर्पण गरेका थिए । आज अपरान्ह राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहमा उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिति रहने जनाइएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।

विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो । विसं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको सम्मान प्राप्त गरेका थिए ।

अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाएका थिए भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको हो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले उक्त सम्मान प्राप्त गरिसकेका छन ।