मोरङ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, देशका सबै इमानदार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताएका छन ।
अध्यक्ष नेपालले आज शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देशका सबै सच्चा इमानदार वामपन्थी विचारधारा बोकेका पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए। गठबन्धन दलहरूबीच जित्ने आधारमा सिटको बाँडफाँट हुने उनले बताए । विगतमा गठबन्धन दलहरूका उम्मेदवारले जितेको सिटका आधारलाई टेकेर बाँडफाँट हुने उनको धारणा थियो ।
अध्यक्ष नेपालले वर्तमान अवस्थामा गठबन्धन दल मिलेर जानु नै लोकतन्त्रको सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन, सुशासन र देशका लागि फलदायी हुने जिकिर गर्नुभयो । ‘सिट बाँडफाँटको चाँडै टुङ्गो लाग्ने विश्वास छ’, उनले भने ।
अध्यक्ष नेपालले विगतमा नेकपा एमालेले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशअनुसार नै वर्तमान सरकारले विधेयक ल्याएकाले यसको विरोध गर्नुको कुनै अर्थ नरहेको प्रष्ट पारे ।