मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाले बुझाए राजीनामा

 Madhesh Pradesh जनता समाजवादी     २०७९, १८ भाद्र शनिबार १४:२५     116 जनाले पढ़िसके



Spread the love

जनकपुरधाम : मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिएका छन्।

प्रतिनिधिसभामा उम्मेदवार बन्ने तयारी गरेका झाले शनिबार मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका हुन्।

आजै जनता समाजवादी पार्टीमा विधिवत् प्रवेश गरेर निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्न लागेका झाले उम्मेदवार बन्नु अगाडि पदबाट राजीनामा दिएको बताएका छन्। झालाई जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ।

झा महोत्तरी क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न लागेका हुन्। ‘मैले मधेश प्रदेशको कानुन व्यवस्था र यस क्षेत्रका जनताको हितमा कानुन निर्माणका लागि आफ्नो ओहदामा रहेसम्म सक्दो प्रयत्न गरेको छु। अब आफ्नो क्षेत्रका जनताहरूको विकास र उनीहरूको सम्वृद्धिका लागि प्रत्यक्ष रूपमै संलग्न हुन निर्वाचनमा लड्ने तयारी गरेको छु,’ झाले अन्नपूर्णकर्मीसँग कुरा गर्दै भने, मेरा एजेन्डाहरूमा सबैभन्दा बढी महत्व विकासलाई नै दिइएको छ र जनताले मलाई पत्याउनेछन् भन्ने विश्वास छ।’

झाले मुख्य न्यायाधिवक्ता रहँदा संघीय सरकारविरुद्ध प्रदेशका अधिकारका लागि विभिन्न मुद्दाहरु दर्ता गराएका हुन्। उनको सक्रियतामा सर्वोच्च अदालतमा मधेश सरकारले संघीय सरकारविरुद्ध आठवटा मुद्दा दर्ता गराएको हो।