कास्की – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सत्ता गठबन्धन दलमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको जानकारी दिएका छन । उनले भने, ‘सिट बाँडफाँट न्यायोचित र सहमतिका साथ हुनुपर्छ । आफ्नो पार्टी सकेसम्म सबैको सम्मान हुने गरी सहमति गर्ने गरी अघि बढेको छ ।’
पार्टी निकट नेपाल आदिवासी जनजाति महासङ्घ कास्कीको प्रथम भेलाको आज शुक्रवार पोखरामा शुभारम्भ गर्दै उनले गठबन्धनमा सिट बाँडफाँट सम्मानजनक र सहमतिका साथ हुनुपर्दछ भने । अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चालगायतका कम्युनिस्ट पार्टीसँग पार्टी एकताको कुराकानी र वार्ता, संवाद चलिरहे पनि चुनावअघि एकता नहुने स्पष्ट पारे ।
‘चुनावी तालमेलपछि विचार मिल्दै गयो, काम गर्ने सोच र दृष्टिकोण मिल्यो भने सबै आन्दोलनलाई एकताबद्ध बनाउने पक्षमा छौँ । अलग–अलग चुलो बाल्न चाहँदैनौँ, अलग–अलग पसल थाप्न चाहँदैनौँ, सबैलाई एउटै ठाउँमा एउटै छातामुनि ल्याउन चाहन्छौँ’, अध्यक्ष नेपालले भने, ‘चुनावअघि कसैसँग मिल्न गइरहेका छैनौँ, अहिले सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गरेर लाग्ने पक्षमा छौँ ।’
अध्यक्ष नेपालले गठबन्धनको मात्र भर नपरिकन आफ्नो जिल्ला र प्रदेशमा पार्टीको नीति प्रचारप्रसार गर्न र जनवर्गीय सङ्घ सङ्गठनको विस्तारमा ध्यान दिन आग्रह पार्टीका नेता कार्यकर्तालाई आग्रह पनि गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले लोपोन्मुख जाति, भाषा, संस्कृतिको रक्षाका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए। फोटो : फाइल