प्रदीप गिरिले छाेडेर गएका चिन्तनलाई कांग्रेसले देशभर पुर्‍याउँछ : प्रधानमन्त्री देउवा

 काँग्रेस     २०७९, १६ भाद्र बिहीबार १८:५८     85 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरिलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रूपमा स्मरण गरेका छन ।

आज बिहीवार काठमाण्डाैमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसका नेता गिरि भर्सटायल, जिनियस भएको बताएका हुन। प्रधानमन्त्री देउवाले गिरिमा सबै क्षेत्रको ज्ञान रहेको उल्लेख गर्दै नेपालमा गिरि सरहको बौद्धिक व्यक्तित्व कमै मात्र पाइने बताए । गिरिको निधनले नेपाल र सारा विश्वलाई अपूरणीय क्षति पुर्‍याएकाे उनकाे भनाइ थियाे ।

उनले भने, ‘गिरि एकदमै भर्सटायल, जिनियस मान्छे हुनुहुन्थ्याे । उहाँमा सबै क्षेत्रको ज्ञान थियो । उहाँ समाजवादी मात्रै होइन, दार्शनिक पनि हो । नेपालमा त्यस्तो विद्वान् मानिस धेरै कम छन् । उहाँको निधनले हामीलाई अपूरणीय क्षति भएको छ । यसको पूर्ति हामी गर्न सक्दैनौँ ।’

प्रधानमन्त्री देउवाले गिरिका लेखहरू पढ्नैपर्ने र लेखहरूमा समाजवादको चिन्तन र समाजवादी आन्दोलनका अनगिन्ती ज्ञान मिल्ने बताए। उनले गिरिले छोडेर गएका चिन्तनहरूलाई नेपाली कांग्रेसले देशभर पुर्‍याउने बताए । फोटो : फाइल