संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ।
सोमबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको हो।
आज बिहान बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो। त्यसपछि अपराह्न ४ बजे बसेको बैठकमा समामुख सापकोटाले निर्णयार्थ पेश गरेका थिए।
उनले ध्वनिमतका आधारमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन्। सभामुख सापकोटाले भने, “हुन्न भन्ने आवाज सुनिएन। तसर्थ, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु।”