नेताहरु जनताबाट निर्वाचित हुने तर निर्वाचनपछि जनता बिर्सिने गरेकाले जनता वाक्क : मन्त्री चौधरी

 #नेकपा एकीकृत समाजवादी     २०७९, १२ भाद्र आईतवार ०८:३२     129 जनाले पढ़िसके



Spread the love

दाङ्ग,देउखुरी
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी सीमान्तकृत जनताको अभिभावक भएको बताएका छन् ।
शनिबार लालमटियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘नेताहरु जनताबाट निर्वाचित हुने तर निर्वाचनपछि जनता बिर्सिने गरेकाले जनता वाक्क भएका छन् । जुन जोगी आएपनि कानै चिरेका जनताले त्यसै भनेका होइनन् । गणतन्त्रका लागि लडेका नेताहरुमा समेत यस्तो प्रवृत्ति देखिनु दर्भाग्यपूर्ण हो ।’
नेता भइसकेपछि जनताका सुखदुखबाट टाढा हुन नहुने धारणा राख्दै सहरी मन्त्री चौधरीले भने, ‘देश जोगाउने सन्दर्भमा, व्यवस्था परिवर्तन गर्ने सन्दर्भमा, क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्नेबेला ठुलो कुर्बानी गरेका सीमान्तकृत जनतालाई झनै बेवास्ता गरिएको छ । हाम्रो पार्टी सीमान्तकृत जनताको बलमै निर्माण भएको हो । तपाईँहरुका समस्या समाधान गर्ने पार्टी पनि हाम्रै पार्टी हो । हाम्रो पार्टी नै तपाईँहरुको अभिभावक हो ।’
विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला दाङ आइपुगेका मन्त्री चौधरीले जनतालाई सचेत हुन समेत आग्रह गरेका छन् । उक्त कार्यक्रममा देवी कुमाल, कवेली कुमाल, श्यामी दमाई, पार्वती नेपाली, गोकर्ण नेपाली, अमर बहादुर बुढाथोकी, अमृता कुमाल, राधा कुमाल, पुष्पा रोका, विना कुमाल, सन्तोषी कुमाल, बिमला कुमाल, देब नेपाली लगायत दुई दर्जन बढी समाजवादी प्रवेश गरेका थिए ।