२७ सय क्षमताको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार, आज प्रधानमन्त्रीले उद्धाटन गर्ने

 संवाददाता    २०७९, ११ भाद्र शनिबार ०९:२९     146 जनाले पढ़िसके



Spread the love

बुटवल- अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न मिल्ने बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटनका लागि तयार भएको छ। संघीय सरकार शहरी विकास मन्त्रालयले १ अर्ब ११ करोडको लागत सम्मेलन केन्द्र निर्माण गरेको हो। सम्मेलनको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।

उद्घाटनको समय तय भएसँगै सम्मेलन केन्द्रलाई चिटिक्क पारिएको छ। उद्घाटन समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, शहरी विकास मन्त्री मेटमणि चौधरी र पूर्वअर्थमन्त्री विष्णु पौडेलको उपस्थिति रहनेछ।

सहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौं बाहिर अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्न सम्मेलन केन्द्र उपयोगी हुने बताए। उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै आवश्यक काम अघि बढाइएको बताए।

यसअघि शहरी विकास मन्त्री हुँदा रामकुमारी झाँक्रीले समेत भवन चाँडो सक्न आयोजनाको ध्यानाकर्षण गराएकी थिइन्। बुटवल उपमहानगरले संरक्षण गरेको बुटवल मण्डपमा सभाहल र अन्य साना हलमा गरी २७ सय मानिस अट्ने सम्मेलन केन्द्र तयार भएको हो।

बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले बुटवल सम्मेलन केन्द्र बुटवलको सम्पत्तिका रूपमा रहने बताए। उनले सम्मेलन केन्द्रलाई संघीय सरकारले हस्तान्तरण गरेको खण्डमा व्यवस्थापन गर्न उपमहानगर तयार रहेको बताए। उद्घाटन अघि गृहमन्त्री बालकृष्ण खाँणले सम्मेलन केन्द्रको अवलोकन गरेका छन्।

नेपालको झन्डा आकारमा तयार पारिएको सभाहल तत्कालै प्रयोग गर्न मिल्ने गरी तयार भइसकेको छ। एक हजार अट्ने सभाहलमा उद्घाटन समारोह गरिने बुटवलसभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले जानकारी दिए।

सभाहल सहित ६ वटा बैठक हल र दुई वटा बहुउद्देश्यीय हल भवन तयार भएको छ। सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माण भएको छ। सभाहल बाहेक बैठक हल र बहुउद्देश्यीय हलमा फर्निचर, फर्निसिङको काम गर्न बाँकी रहेको आयोजना प्रमुख पन्थीले बताए।

सम्मेलन केन्द्र तयार भएपछि बुटवलमा अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलनहरू गर्न सहज हुने भएको छ। चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था छ। सम्मेलन केन्द्रमा हेलिप्याड समेत बनाइएको छ। लिफ्टको सुविधा सहित निर्माण गरिएको सम्मेलन केन्द्रमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गर्न मिल्ने गरी भौतिक संरचना तयार पारिएको छ। विद्युतुका लागि छुट्टै सब स्टेसन राखिएको छ। ६सय ३० केभिए क्षमताको विद्युत् ट्रान्सपफर्मर राखिएको छ।

खोनपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ। सम्मेलन केन्द्र प्रवेश गर्दा आकर्षक बनाउन केही भागमा दुवो लगाइएको छ भने सभाहल अगाडि पट्टी पोखरी निर्माण गरिएको छ। प्रवेश हुने र बाहिरिने गरी ५ वटा वटा अलग अलग गेट तयार पारिएको छ।

विशिष्ट प्रवेशद्वार र सर्भिस गेट पनि बनाइएको छ। बाँकी ३ वटामध्ये २ वटाबाट सम्मेलन केन्द्र प्रवेश गर्ने र एउटा गेटबाट बाहिरिने व्यवस्था मिलाइएको छ।

बाल उद्यान, कफी सप, रिफ्रेस हल, रजिस्ट्रेसन र टिकट काउण्टर समेत बनाइएको छ। सम्मेलन केन्द्र अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्न मिल्ने गरी तयार भएको आयोजना प्रमुख पन्थीले बताए। २०७१ साल पुसबाट निर्माण सुरु गरिएको सम्मेलन केन्द्र कोरोना महामारी र रुख कटानका कारण प्रभावित भएको थियो।

दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कार्तिकसम्मको समयअवधि तोकेर काम भएको हो। तर, तोकिएको समयमा काम नगरेपछि २०७९ साल कार्तिकसम्म म्याद थप गरिएको थियो। थप भएको म्याद अगावै २०७९ असारमै निर्माण सम्पन्न गरेको बुटवलसभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख पन्थीले बताए। सम्मेलन केन्द्र ९.६ बिगाहामा बनेको छ।