काठमाडाैँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीकाे व्यक्तिवादी चरित्रका कारण नेपालमा जटिलता आएकाे आराेप लगाएका छन्।
पार्टी पुनर्गठन दिवसकाे अवसरमा उनले यस्ताे आराेप लगाएका हुन्।
इमान्दार र कर्तव्यनिष्ठा नभएकाे व्यक्ति कम्युनिस्ट हुन नसक्ने अध्यक्ष नेपालकाे भनाइ छ।
उनले भने, ‘केपी ओलीकाे व्यक्तिवादी चरित्रको कारण नेपालमा जटिलता आयो।इतिहासको जानकारी राखेर वर्तमानको गम्भीर समिक्षा गर्नुपर्छ। इमान्दार र कर्तव्यनिस्ठा नभएको व्यक्ति कम्युनिस्ट हुन सक्दैन। इतिहासदेखि नै गुट थियो भ्रम फैलियो। एमालेको अध्यक्ष ओली बनेपछि पार्टीमा समस्या आयो। नेकपा एकतापछि ओलीमा थप अहंकार आयो अनि नेकपा एस बन्यो।’
एकीकृत समाजवादीले निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र पाएको दिनको अवसरमा आज पार्टी पुनर्गठन दिवस मनाउँदैछ।
गत वर्ष नेकपा एमालेबाट विभाजन भइ माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो।