काठमाडौं, आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्न लागेको छ।
आयोगले निर्वाचन आचारसंहिता परिवर्तनका विषयमा छलफल गर्न १२ दललाई बोलाएको छ। प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दललाई आज बिहान ११ः३० बजे बोलाएको हो।
दलका प्रतिनिधिसँग निर्वाचन आचारसंहिता लगायतका विषयमा छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी गरेको उनले जानकारी दिए।
सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव घोषणा गरेको छ। त्यसका लागि आयोगले दल दर्ता गरिसकेको छ भने अन्य तयारीमा जुटेको छ।
आगामी मंसिरमा प्रतिनिधिसभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा चुनाव हुनेछ। यस सँगै सातै प्रदेश र प्रतिनिधिसभाको समानुपातिक तर्फको पनि चुनाव हुनेछ।