गान्धीवादी नेता गिरीको निधनले सिंगाे देशलाई ठुलो क्षति पुगेको छ : नेपाली कांग्रेस

 काँग्रेस     २०७९, ५ भाद्र आईतवार १५:३६     105 जनाले पढ़िसके



Spread the love

काठमाडाैं, नेपाली कांग्रेसले महान् दार्शनिक नेता प्रदीप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठुलो क्षति पुगेको बैठकको ठहर गरेकाे छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले बैठकले उनीप्रति उच्च सम्मान प्रकट गर्दै यस दुःखद घडीमा उनको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जलीका साथ शोकाकूल परिवारजन एवं समस्त पार्टी सदस्यमा समवेदना प्रकट गरेको छ।

दिवंगत नेता गिरीप्रति उच्च सम्मान र उहाँको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको बैठकमा दुई मिनेट मौन धारण गरिएको थियो।

कांग्रेसका नेता गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ११ः३० देखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपा प्रांगणमा राखिएको छ। तत्पश्चात् पशुपति आर्यघाटमा उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै दाहसंस्कार गरिने कार्यक्रम छ।

गिरी कांग्रेस पार्टीमा मात्रै नभएर नेपाली र विदेशी राजनीतिक समकक्षीबीच लोकप्रिय थिए।

पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट २००४ असोज २४ गते गोवर्धन पूजाका दिन सिरहाको बस्तीपुरमा जन्मनुभएका गिरी भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका छन्।

उनी समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल–भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेता थिए।

उनी राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याता, ग्रामीण किसान, मजदूर एवं विपन्न परिवारलाई विकासको केन्द्रबिन्दुमा राख्थे। कांग्रेसलाई थप समावेशी र सबल बनाउन उनी हरदम क्रियाशील रहेको कांग्रेसले जनाएको छ।

नेता गिरी नेपालमा राजनीतिक दल प्रतिबन्धित भएको समय बनारसबाट कांग्रेस पार्टीमा आबद्ध भई पार्टी सङ्गठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरंकुश पञ्चायतका विरुद्ध निरन्तर सङ्घर्षरत रहे। सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक सङ्घर्षमा होमिनुभएका गिरी लोकतान्त्रिक आन्दोलनमा वैचारिक र साङ्गठनिक अग्रणी भूमिका निभाउने क्रममा पटकपटक जेल र निर्वासनमा रहे।