काठमाडाैँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ । बिहान १० बजे बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल हुने भएकाे हाे ।
सिट बाँडफाँडको आधार र संख्याको प्रारम्भिक खाका बनाउने जिम्मा पाएका कार्यदल संयोजक कृष्णप्रसाद सिटौलाले बुधबार बैठकमा प्रस्ताव पेस नगरेपछि गठबन्धनका शीर्ष नेताको बैठक बोलाइएको नेताहरुले बताएका छन् । गठनयता कार्यदलका चार बैठक बसेपछि सिट बाँडफाँडको आधारलाई लिएर कांग्रेस र अन्य चार दलबीच सहमति बनेको छैन ।
मुख्य आधार नै टुंगिन नसकेपछि कसले कति सिट पाउने भन्ने विषयमा अन्योल देखिएको छ । सिट बाँडफाँडको मुख्य आधार ०७९ को स्थानीय निर्वाचन परिणाम वा ०७४ को संघीय निर्वाचनको प्रत्यक्षतर्फको परिणाम मान्ने भन्नेमा मतभेद छ । यस अवधिमा कांग्रेस ०७४ मा गठबन्धनमा रहेका दलले जितेका सबै सिट छाड्न तयार भएन, आफ्ना सिट आफैँ राख्ने चार दलले अडान कायम राखेका छन् ।