देउखुरी, । दाङको देउखुरीमा राप्ती कोरिडोर निर्माण हुने भएको छ । राप्ती नदीको दुबै क्षेत्रमा करिडोर निर्माण हुने भएको हो । एशियाली विकास बैंक (एडिवी) को करिव १० अर्वको लगानीमा निर्माण हुने कोरिडोर राप्ती गाउँपालिकाबाट शुरु भएर बाँके जिल्लाको राप्ती सनोरी गाउँपालिकाको अघैयामा सम्म पुग्नेछ ।
शहरी विकास मन्त्री मेटमणि चौधरीले राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीस्थित ईन्टेक नम्बर २ मा विधिवत् रुपमा शिलान्यास गरेका छन । कोरिडोरको शिलान्यास गर्दै मन्त्री चौधरीले राप्ती कोरिडोर देउखुरीबासीको भविष्य र आफ्नो सपनाको परियोजना भएको बताए। सङ्घीय निर्वाचनका बेला आफूले जनता माझ गरेको चार वटा महत्वपूर्ण योजना मध्ये राप्ती कोरिडोर पनि भएको उनले बताए ।
मन्त्री चौधरीले भने,“राप्ती कोरिडोर यत्तिकै ल्याइएको योजना होइन, यसबाट राप्ती नदीले कटान गर्ने देउखुरी उपत्यकाको हजारौं विगाहा जग्गा संरक्षण हुने, नदीको दुबै किनाराबाट सडक जाने हुँदा सभ्यतामा आधारित कोरिडोरको रुपमा लिन सकिन्छ ।” मन्त्री चौधरीले परियोजना कार्यान्वयनको लागि एडिबिका नेपाल निर्दशक (कन्ट्रि डाईरेक्टर)सँगको छलफलपछि बजेट सुनिश्चित भएर काम अघि बढाइएको जानकारी दिँदै बजेटको अभाव नहुने बताए।
सोही कोरिडोरमा पर्नेे सिहिनियाँमा ८७ विगाहा रहेको जानकारी दिँदै उक्त स्थानमा विमानस्थल बनाउन सकिने बताए । देशका ठूला कोरिडोर मध्ये धोबी खोला कोरिडोर र बागमती कोरिडोरपछि राप्ती कोरिडोर भएकाले पनि यस परियोजनालाई दाङ्गबासीको सपना भएको बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी कार्यान्वयनका लागि राप्ती नदी सभ्यतामा आधारित नयाँ शहरको परिकल्पना गरेको छ । जसको विस्तृत परियोजना प्रतिवेदन प्रदेश पूर्वाधार विकास प्राधिकरणले तयार पारेर नदी उकास क्षेत्रमा ल्याण्ड पुलिङको आधारमा नयाँ शहरको परिकल्पना गरेको छ । सोही परियोजनालाई समेट्दै राप्ती कोरिडोर बन्न लागेको हो ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले राप्ती कोरिडोर नदी नियन्त्रण, जग्गा संरक्षण, सडक सुविधा र नयाँ शहरको सोचका साथ आएको बताउनुभयो । उहाँले देउखुरीको भालुवाङ, गढवा र राजपुर गरी तीन स्थानमा नयाँ शहरको परिकल्पनासहित करिडोरको योजना अघि सारिएको जानकारी दिए ।
उक्त सडकको चौडाई २१ मिटरको फराकिलो हुनेछ भने ठूला नदीमा ढल नमिसाउने गरी ६७.५० किलोमिटर उत्तरी क्षेत्र र ६८.३० किलोमिटर दक्षिणी क्षेत्रसहित कुल १३५ किलोमिटर लामो ढल बन्नेछ । राप्ती क्षेत्रमा करिडोर बन्ने भएपछि स्थानीयबासी पनि हर्षित छन् । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले देउखुरीबासीले यो कामलाई ऐतिहासिक दिनका रुपमा लिएको बताए । यो खबर गोरखपत्र दैनिकमा प्रकाशित छ