सबै मिल्दा मात्र विकास सम्भव : शहरी विकास मन्त्री मेटमणि चौधरी

 #नेकपा एकीकृत समाजवादी     २०७९, २९ श्रावण आईतवार ०८:४५     124 जनाले पढ़िसके



Spread the love

शहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र सम्वृद्धि चाहने हो भने सबै मिल्नुपर्ने धारणा राखेका छन् ।
शनिबार लमहीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘साँचो अर्थमा विकास चाहने हो भने समाजका सबै पक्ष, सबै वर्ग र सबै जनता मिल्न जरुरी छ । कसैले म एक्लै गर्न सक्छु भन्छ भने त्यो मूर्खता मात्र हो ।’
‘विपि स्मृति भवनलाई बजेट छुट्याएको छु । अब जनमोर्चा समेतलाई छुट्याउँछु । हिन्दु, गुम्बा देखि क्रिश्चियनसम्मलाई बजेट छुट्याइनेछ । सबै जनताले राज्य मेरो हो भन्ने महसुस गर्नुपर्छ ।’ मन्त्री चौधरीले थपे ।
दाङ देउखुरीले अब मुहार फेर्ने धारणा राखेका सहरी मन्त्री चौधरीले देउखुरीबाट स्वर्गद्धारी जोड्ने केवुलकार, माइक्रो ट्रेन, बबई नदीदेखि मुसोटसम्म सुरुङ मार्ग, राप्ती नदीमा बृहत तटबन्ध सहित राप्ती कोरिडोर निर्माण जस्ता महत्वपूर्ण परियोजना सुरु गरिने जनाए ।
मन्त्री चौधरीले उनकै पलमा निर्माण भएको दलित सचेतना अभियान लमहीको भवन उद्घाटन, २० करोडको लागतमा बन्न लागेको लमही बहुउद्देश्यीय भवनको शिलान्यास गरेका थिए भने थारुकल्याणकारिणी सभा देउखुरी, नेपाल नेत्रज्योती संघ, उद्योमी महिला बचत तथा ऋण सहकारी लगायत विभिन्न संघ संस्थाहरुले सम्मान गरेका थिए ।