कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

 काँग्रेस     २०७९, २८ श्रावण शनिबार ०८:३८     111 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिवार बिहान बस्दैछ। बैठक बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका विषयमा छलफल हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। बैठकमा निर्वाचनको तयारी, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने संगठन सुदृढीकरण अभियान तथा साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा समेत छलफल हुनेछ।

सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरिसकेको छ। पाँचदलीय गठबन्धनको नेतृत्व गरेर कांग्रेस चुनावमा होमिएको छ। गठबन्धन दलबीच सिट बाँडफाँडका लागि गठन गरिएको कार्यदलले पनि काम सुरु गरिसकेको छ।

साउन ३० गते बस्ने कार्यदलको बैठकमा दलहरूले सिट संख्या नै दाबी गर्ने तयारी गरेपछि कार्यसम्पादन समितिको बैठकमा कांग्रेसले दाबी गर्ने सिट संख्याबारे पनि छलफल हुने जनाइएको छ।