काठमाडौं : मंगलवार रातिदेखिको अविरल वर्षाका कारण भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन्। मनोहरा खोला आसपासको क्षेत्र डुबानमा पर्नुका साथै तटीय क्षेत्रमा कटान समेत भएको प्रहरीले जनाएको छ। डुबानका कारण घरहरुमा जलमग्न भएका छन्। नेपाल प्रहरी र स्थानीयको सहयोगमा प्रभावितको उद्धार गरिएको छ।
के के भयो क्षति ?
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ मनहरा खोला निलोपुल नजिक जिल्ला बंगुर फर्म संचालन गर्ने हरी राईको बंगुर फर्मबाट खोलाले ४ वटा बंगुर बगाएको प्रहरीले जनाएको छ। यस्तै, सोही नगरपालिकाको वडा नं. १ दुवाकोट बेसी मनोहरा खोला किनारका २० वटा घर टहरामा पानी पसेको छ। एउटा टहरामा बस्दै आएका ४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।
मध्यपुर थिमि नगरपालिका वडा नं. २ मनोहरा खोला किनारमा रहेको दिब्यश्वरी प्लानिङ नजिकै रहेको अम्मर लामाको बंगुर फर्ममा पानी पसी डुबान भएको छ। सो फर्ममा रहेका ५०० वटा हाँस , २०० वटा बंगुर र २ वटा गाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको छ। थिमिकै वडा नं. १ मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरेको छ। माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घर टहरामा पानी पसेको छ।
यस्तै, थिमी नगरपालिका वडा नं. २ सानोठिमी मनोहरा खोला किनारमा रहेको दिब्यश्वरी प्लानिङस्थित टहरामा बसोबास गर्दै आएका पेमा तामाङको टहरामा पनि पानी पसेको छ। सो स्थानबाट २६ बोरा चामलमा पानी पसी क्षति भएको र कुखुराको ४५ वटा चल्ला बगाएको प्रहरीले जनाएको छ। यस्तै कांडाघारी प्रहरी चौकी भित्र पनि खोला पसेको छ। बाढीले प्रहरी चौकीको भुंई तला भरी पानी भरिएको प्रहरीले जनाएको छ।