नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पलालले नेपाली राजनीतिमा रोपेको कम्युनिष्ट पार्टीको बिरुवा फस्टाउँदो अवस्थामा रहेको बताएका छन् । किर्तिपुरको चम्पादेविमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पुष्पलालको प्रतिमामा माल्यार्पण गर्दै अध्यक्ष नेपालले आफूहरु पुष्पलालकालीन नेपाल कम्युनिष्ट पार्टीको निरन्तरता भएको बताए।आफूहरुले पनि पुष्पलालको शिक्षा दिक्षाबाट दीक्षित भएर नेपालको इतिहासमा कीर्तिमान कायम गरेको बताए । उनले भने, ‘नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भएर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेको हुँ । अहिले हाम्रो काँधमा अनेक चुनौतिहरु छन्। आत्तिनुपर्ने कुनै कारण छैन । नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौं । हामीले इतिहासमा कीर्तिमान कायम गरेका छौं । पुष्पलालको शिक्षा र दिक्षाबाट दीक्षित भएका हामीले नेकपा एकीकृत समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका छौं । त्यसको छुटै अस्तित्व छ । हामीले देश र जनताप्रति सेवाभावले समर्पित भएर काम गर्नु जरुरी छ ।’
अरुभन्दा भिन्न रुपमा प्रस्तुत भएर नै स्वच्छ समर्पित राजनीतिको निमित्त इमानदार र स्वच्छ राजनीतिको निमित्त देश र जनताको निमित्त केन्द्रित भएमात्र पुष्पलालप्रतिको सच्चा बुझाइ हुने बताए । सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो ।
विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।