अन्ततः हतियार खरिद गर्ने निर्णयबाट पछि हट्दै सरकार

 संवाददाता    २०७९, २ श्रावण सोमबार १२:११     134 जनाले पढ़िसके



Spread the love

काठमाडाैँ । आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ । गृह मन्त्रालयले तत्काल हतियार खरिदको प्रक्रिया अघि नबढाउन नेपाल प्रहरीलाई निर्देशन दिने भएको छ । अर्थ मन्त्रालयले पनि हतियार खरिदका लागि दिन भनेको रकम रोकेको छ । ‘बजेट पनि रोकियो, अहिलेलाई हतियार खरिदको योजना पनि रोकियो,’ गृह मन्त्रालय स्रोतले भन्यो ।

गत हप्ता विभिन्न संचार माध्यममा आर्थिक मन्दीका बेला सरकारले ८४ करोडको हतियार खरिद गर्न लागेको समाचार प्रकाशित भएको थियो। त्यसपछि सामाजिक संजाल लगायत संसदमा समेत विरोध भएको थियो त्यस पछि सरकार हतियार खरिदबाट पछि हटेको हो। ‘अर्थ मन्त्रालयले बजेट नदिने भनेको छ। मन्त्रीज्यूले पनि हतियार खरिदका लागि पैसा नभएको भन्नुभएको छ। त्यसकारण अहिलेलाई हतियार खरिद प्रक्रिया रोकिएको छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने। ती अधिकारीका अनुसार गृह मन्त्रालयले हतियार खरिदमा चासो दिए पनि तत्काल हतियारभन्दा अन्य पूर्वाधारमै जोड दिने भएको छ ।

गृह मन्त्रालयका निमित्त प्रवक्ता एवं सहसचिव प्रदीप कोइरालाले हतियार खरिदबारे कुनै पनि प्रक्रिया अहिले अघि नबढ्ने बताए। ‘मन्त्रालयले यो विषयमा अहिलेसम्म कुनै कार्य अघि बढाएको छैन, बाँकी फणीन्द्रमणि पोखरेल सर आएपछि विवरण थाहा हुन्छ,’ निमित्त प्रवक्ता कोइरालाले भने ।

अर्थ मन्त्रालय स्रोतका अनुसार गत आर्थिक वर्षको अन्तिममा हतियार खरिदका लागि गरिएको रकमान्तर रोकिएको छ। ‘हतियार खरिदका लागि गरिएको रकमान्तर रोकिएको छ। अहिले आर्थिक मन्दी चुलिएका बेला रकम नपठाउने निर्णय गरिएको हो,’ अर्थ मन्त्रालय स्रोतले भन्यो। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आफू मन्त्रालयबाट बाहिरिँदै गर्दा हतियार किन्न रकमान्तर गरिदिएका थिए। १ अर्ब ३५ करोडको हतियार खरिद गर्ने भए पनि पहिलो चरणमा ८४ करोड रकमान्तर गरिएको थियो ।

सरकारले इटालीको बेर्रेटा कम्पनीले उत्पादन गरेका १ हजार १ सय ५० थान सटगन, हजार थान पेस्तोल, २५ हजार थान ग्यास सेलसहित गोलीगट्ठा किन्ने प्रक्रिया एजेन्टमार्फत अघि बढाएको थियो। तर चौतर्फी आलोचना भएपछि सरकार पछि हटेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले कांग्रेस केन्द्रीय समिति बैठकमा पनि तत्काल हतियार खरिद नगर्ने बताएका छन्। उनले यसका लागि सरकारसँग आवश्यक रकम नभएको बताउँदै हतियार खरिद गर्नुपर्ने योजना रोकिएको जानकारी गराएका थिए। हतियार खरिद विषयमा कांग्रेसभित्र पनि चर्को विरोध भएको थियो ।

हतियार खरिदमा महँगो दररेट प्रस्ताव गरिएको थियो। सरकारले ९ एमएमको पेस्तोललाई १ हजार डलर प्रस्ताव गरेको थियो। जबकि, सन् २०२२ मा बनेको ९ एमएमको हतियारको मूल्य ७ सय ६९ डलर छ। त्यतिबेला बनेको ९ एमएमको पेस्तोल ल्याए पनि २ सय ३१ डलर बढी प्रस्ताव गरिएको थियो। तर सन् २०१७ मा बनेको उक्त हतियार करिब ३ सय ५० देखि ४ सय डलरभन्दा बढी नपर्ने भए पनि सरकारले बढी मूल्य प्रस्ताव गरेको थियो ।