भारत भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग आज भेटवार्ता गर्दै छन । सत्तारुढ भारतीय जनता पार्टी भाजपाको निमन्त्रणमा शुक्रबार दिल्ली गएका अध्यक्ष दाहालले आज प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्न लाग्नुभएको हो । अध्यक्ष दाहालले मोदीसँग भेटवार्ता गर्ने भनिएपनि समय भने निश्चित भईनसकेको प्रचण्ड निकट स्रोतले बतायो। मोदीसँग भेट्नुअघी दाहालले आजै भाजपा अध्यक्ष जेपी नड्डासँग दिल्लीको बारखम्बास्थित पार्टी केन्द्रीय कार्यलयमा विहान ११ बजे भेटवार्ता गरिसकेका छन ।
भारतीय पक्षसँग आफुले नेपाल भारतबीच उर्जाको व्यापार सम्भावना, दुई मुलुकबीचको सीमा विवाद लगायतका विषयमा छलफल गर्ने दाहालको कार्यक्रम रहेको बताइएको छ।भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा दिल्ली पुगेका अध्यक्ष दाहाल आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा दाहालले भारतका विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रा, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल, एवं नेपाली समुदायसँग भेट गरेका थिए । भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालले दाहालको सम्मानमा हिजो रात्रि भोजको आयोजना गरेका थिए ।