श्रेष्ठका अनुसार सो कार्यक्रममा नेपालका वामपन्थी शक्तिहरूले एक अर्कालाई कमजोर पार्ने र सिध्याउने नीति-प्रयत्नलाई नै निरन्तरता दिने हो भने वामपन्थी आन्दोलन नै धराशयी हुने खतरा रहेको र त्यसले अन्ततः नेपालको राष्ट्रिय सार्वभौमिकता स्वाधीनता एवं हित कमजोर हुँदै संकटग्रस्त्त बन्ने खतरा बढाउने भएकाले वामपन्थी शक्तिहरूबीचको तालमेल, मोर्चा र एकताको आवश्यकता औल्याएका थिए ।
‘मैले सबै सम्बन्धित पार्टी र नेताहरूलाई देश, जनता र वाम आन्दोलनलाई केन्द्रबिन्दुमा राख्दै विनम्रतापूर्वक आत्मालोचना गरी त्यस दिशामा अघि बढ्ने अग्रसरता तथा पहलकदमीको निम्ति अनुरोध गरेको थिएँ’ श्रेष्ठले सामाजिक संजालमा लेखेका छन्, ‘यही कार्यक्रममा पछि बोल्दै नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले को छ र अरु वामपन्थी पार्टी भन्दै आफ्नो पार्टी मात्र वामपन्थी भएको खालको विचार प्रकट गरे, ओलीले प्रम हुँदा संविधानको प्रावधान विरुद्ध प्रतिनिधिसभा विघटन गरेको कारणबाट उनी नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वसनीयता (क्रेडिबिलिटी) माथिसमेत प्रश्न उठ्ने गरेको विषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन ।’ उनका अनुसार ओलीको सो अभिव्यक्तिले अह तुष्टि गर्ने तर देश जनता र वामपन्थी आन्दोलनलाई कुनै पनि योगदान पुर्याउने छैन ।
‘त्यसक्रमा मैले आमनेता, कार्यकर्ता र बुध्दिजीवीहरूलाई ‘आफ्नो पक्ष’को अन्धतापूर्वक समर्थन र वकालत गर्ने वकिल जस्तो मात्र नबनी आलोचनात्मक चेतयुक्त बनौं र ठीकलाई ठीक बेठीकलाई बेठीक भन्ने साहस तथा संस्कृति प्रदर्शन गरौं भन्ने अपिल पनि गरेको थिएँ’ श्रेष्ठले गुनासो गर्दै भनेका छन् ।
