काठमाडौं- नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा उनी निर्वाचित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका हुन्।
कांग्रेसकी पुष्पालाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा र जनमोर्चाको समर्थन थियो।
‘पुष्पा भुसाललाई प्रतिनिधि सभा उपसभामुखमा चयन गरियोस्’ भनी माओवादीका देव गुरुङले गरेको प्रस्तावमा पुष्पाले १४८ मत प्राप्त गरी विजयी भइन्। उक्त मत तत्काल कायम भएका प्रतिनिधि सभा सांसद संख्याको बहुमत भएकाले पुष्पा उपसभामुखमा चयन भएको सभामुख अग्नि प्रसाद सापकोटाले घोषणा गरेका हुन्। उनको विपक्षमा एमाले र राप्रपाले मतदान गरेका थियो। पुष्पाको विपक्षमा ९३ मत परेको थियो। १ जनाले मतदान नै गरेनन्। मतदानमा जम्मा २४२ जना सहभागी भएका थिए।
उपसभामुखकी अर्की उम्मेदवार एमालेकी विद्या भट्टराईलाई उपसभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्ष वा विपक्षमा भने मतदान नै भएन। प्रतिनिधि सभा नियमावलीमा पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारका हकमा पहिले मतदान हुने र दोस्रो नम्बरमा उम्मेदवारी दर्ता भएको हकमा दोस्रो पटक मतदान हुने व्यवस्थाअनुसार पहिले पुष्पाको प्रस्तावमा मतदान भएको थियो। पहिलो पटकको मतदानमा नै पुष्पा निर्वाचित भएपछि ‘विद्या भट्टराईलाई निर्वाचित गरियोस्’ भन्ने प्रस्तावको पक्ष/विपक्षमा मतदान नै नभएको हो।
उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। अर्थात् हाल २ सय ७१ सांसदको बहुमत १ सय ३६ हुन्छ। पुष्पाले १४८ मत प्राप्त गरेपछि पहिलो पटकको मतदानमा उनी निर्वाचित भएकी हुन्।