काठमाडाैँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियनचाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ । उनीहरूबीच मंगलबार दिउँसाे ओली निवास बालकाेटमा भेटवार्ता भएकाे हाे । लिउले नेपाल चीनको अत्यन्त नजिकको मित्र राष्ट्र भएको र नेपालको विकासको साझेदार रहेको भन्दै यसलाई निरन्तरता दिने बताए भने ओलीले आफूहरू एक चीन नीतिप्रति सधैँ प्रतिबद्ध रहेकाे बताए । ओलीलाई उद्धृत गर्दै एमाले नेता राजन भट्टराईले भने— चिनविराेधी कुनैखाले गतिविधि नेपालले गर्दैन, यसका लागि हाम्राे पार्टी सधैँ प्रतिबद्ध छ ।
लिउले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री नारायण खड्कालगायतसँग भेटवार्ता गरिसकेका छन् ।