प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका श्रष्टाहरुलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन्।
आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका श्रष्टाहरुलाई पुरस्कार समर्पण समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत तथा नाट्यलगायतका विधामा योगदान दिने श्रष्टाहरुको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका हुन्।
उनले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्यलगायतका विधाहरु मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको बताए।
उनले नेपालका संस्कृति तथा साहित्य राष्ट्रिय गौरवको विषय भएको पनि बताए।
श्रष्टा र साधकहरुलाई राज्यले सम्मान गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यस प्रकारको सम्मानले श्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने बताए।
उनले भने, ‘भाषा, साहित्य, संस्कृति, इतिहास, कला, संगित एवं नाट्य लगायतका विधाहरु मुलुकका गहना हुन्। ती हाम्रा सभ्यता र संस्कृतिका धरोहर हुन्। ती हाम्रा राष्ट्रिय गौरवका विषय हुनुका साथै तिनले नै स्वदेश तथा विदेशमा नेपालको विशिष्ट राष्ट्रिय पहिचान बनाउन सघाउ पुर्याउँदै आएका छन्। तसर्थ यी क्षेत्रका विकास र संरक्षण गर्न संलग्न संस्था तथा साधकहरुको सम्मान एवं कदर गर्नु हाम्रो राष्ट्रिय दायित्व पनि हो।’
उनले थपे, ‘श्रष्टा र साधकहरुको सम्मानबाट उहाँहरुले सम्बन्धित क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर हुनुका साथै उहाँहरुलाई आफू संलग्न क्षेत्रमा थप सिर्जनात्मक काम गर्न प्रेरणा र प्रोत्साहन पनि मिल्नेछ। यसै तथ्यलाई मध्येनजर गरि सरकारले विभिन्न राष्ट्रिय व्यक्तित्वको नाममा विभिन्न पुरस्कारहरुको स्थापना गरेको हो।’
प्रधानमन्त्री देउवाले आज राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कारबाट पुरस्कृत प्रतिभाहरुलाई नेपाल सरकारकोतर्फबाट पुरस्कार प्रदान गरे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधामा योगदान पुर्याउने ४३ जना श्रष्टाहरुलाई पुरस्कृत गरेको हो।
प्रधानमन्त्रीले पुरस्कृत प्रतिभाहरूबाट आगामी दिनमा राष्ट्रको भाषा, साहित्य, कला, संस्कृति, संगित एवं नाट्य क्षेत्रको विकास हुनेमा अझ बढी योगदानको अपेक्षा पनि गरे।
साथै, श्रष्टाहरुप्रति राज्यले गरेको सम्मानले मुलुकको प्रतिष्ठा उच्च बनाउन तथा देशको सर्वाङ्गीण विकासमा श्रष्टाहरुको अझ योगदान हुने विश्वास व्यक्त गरे।