बुटवल- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको च्याप्टर खुलाउने पक्षमा आफू नरहेको बताएका छन्।
रूपन्देहीको बुटवलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले यस्तो बताएका हुन्।
नेता नेपालले भने, ‘एमालेसँग एकताको च्याप्टर नखुलेको अवस्थामा बन्द भन्ने प्रश्नै उठाउनुपर्दैन। अहिले पनि बन्द अवस्थामै छ।’
एमालेसँग एकताको च्याप्टर खुल्दै नखुली बन्द रहेको र पार्टीमा जुन कारणले विद्रोह भएको थियो, त्यसको औचित्य पुष्टि भएको दाबी नेता नेपालले गरे।
नेता नेपालले राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु नहुने भएकाले संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको बताए।
नेकपा माओवादी केन्द्रसँग एकता गरेर प्रचण्ड अध्यक्ष र माधव नेपाल प्रधानमन्त्री बनाउने भन्ने समाचार सत्य नभएको उनको भनाइ छ।
वाम पार्टीले नै राष्ट्रलाई निकास दिन सक्छन् भनेर कम्युनिस्ट पार्टीहरूमा एकताको सम्भावनाबारे छलफल गरिरहे भए पनि पद र प्रतिष्ठाका लागि पार्टी एकता नहुने उनले बताए।
‘माधव नेपाललाई प्रधानमन्त्री चाहिएर पार्टी एकीकरण गर्नैपर्दैन। म पदको पछाडि लाग्ने, पदका मरिहत्ते गर्ने मान्छे होइन’, उनले भने।
नेता नेपालले पछिल्लो समय तत्कालीन नेकपालाई ब्युँताउन सकिन्छ कि भनेर छलफल भने भइरहेको सुनाए।
‘नेपालको राजनीतिक परिवर्तनमा वामपन्थी शक्तिको ठूलो हात छ। त्यसैले ती शक्तिलाई छिन्नभिन्न हुन नदिन केही गर्न सकिन्छ कि भन्ने छलफल निरन्तर चलिरहन्छ’, उनले भने।
वामपन्थीहरूको सहयोगले नै कांग्रेस सरकारमा पुगेको हुँदा त्यसलाई उसले ध्यान दिनुपर्ने उनको धारणा छ।
स्थानीय तह निर्वाचनमा तल्लो तहसम्म गठबन्धन हुन नसक्दा नेकपा एसले धेरै उम्मेदवार विजयी गराउन नसके पनि पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने पक्षमा पार्टी रहेको नेता नेपालले जानकारी दिए।