काठमाण्डाै – मधेस आन्दोलन र जनयुद्धका क्रममा सहिद भएकाको परिवारलाई भरण पोषणबापत मधेस प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
सहिद परिवारको भरण पोषणबापत प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले मधेसी सहिद प्रतिष्ठानमार्फत सहिद परिवारलाई मासिक १२ हजार रुपैयाँका दरले आर्थिक सहयोग दिन लागेको हो ।
यस्तै सहिद परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि छात्रवृत्तिसमेत दिन लागिएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । यसका लागि प्रदेश सरकारले यस वर्ष एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
आवेदन परेअनुसार हिसाब गरेर रकम वितरण गर्ने उहाँको भनाइ छ । तर कार्यविधिमा २१ हजार रुपैयाँसम्म दिने भनिएको छ । आवेदन अनुसार यो रकममा घटबढ हुन सक्ने उनले बताएका छन । आवेदन भोलिसम्म दिन पाइनेछ ।
सहिद परिवारको छोराछोरीलाई कक्षा १ देखि ६ सम्मलाई १६ हजार र कक्षा ७ देखि १२ सम्मलाई १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिन लागिएको सचिव महतोले बताए ।
प्रदेश सरकारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम मधेस आन्दोलन तथा जनयुद्धमा सहिद भएका परिवारमध्ये आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखेर भरणपोषण बापत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।