विराटनगर महानगरपालिकाको बजेट आज सार्वजनिक गरिँदै

 संवाददाता    २०७९, १० असार शुक्रबार ११:२३     130 जनाले पढ़िसके



Spread the love

विराटनगर : प्रदेश १ को एउटा मात्रै महानगरपालिका विराटनगरको बजेट आज (शुक्रबार) सार्वजनिक गरिँदै छ। मेयर नागेश कोइरालाको नेतृत्वमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरिने भएको हो। बजेट ३ अर्ब ५० करोड हाराहारीको हुने बताइएको छ। चालू आर्थिक वर्ष २०७८/०७९ का लागि विराटनगर महानगरपालिकाले ४ अर्ब ६० करोड ८१ लाख बराबरको बजेट ल्याएको थियो।

चालूभन्दा आगामी आर्थिक वर्षका लागि झण्डै १ अर्ब कमको बजेट ल्याउन लागिएको महानगरले जनाएको छ। मेयर कोइरालाले बजेट ३ अर्ब ५० करोडदेखि ३ अर्ब ६० करोडको बीचमा आउने बताए। उनका अनुसार बजेटमार्फत करको दर घटाइने छ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअघि नै कोइरालाले आफ्नो कार्यकालमा करको दर घटाउने र दायरा बढाउने घोषणा गरेका थिए। करको दर घटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय महानगरले गरिसकेको छ। कार्यदलको सिफारिसका आधारमा कर समायोजना हुने बताइएको छ।

महानगरले शुक्रबार नै नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्ने छ। नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि आगामी आर्थिक वर्षको बजेट पेश गरिने भएको हो। विराटनगर महानगरसहित १७ वटा स्थानीय तह रहेको मोरङका केही पालिकाले यसअघि नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्।

अधिकांशको भने शुक्रबार नै नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारी छ। स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी नीति, कार्यक्रम एवं बजेट प्रस्तुत गरिसक्नुपर्ने र असार मसान्तभित्र पारित गर्नुपर्ने व्यवस्था छ।