मधेस प्रदेश सरकारले पहिलो मधेस प्रदेश युवा महोत्सव आयोजना गर्न लागेको छ । यही असार १५ र १६ गते प्रदेश राजधानी जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा आयोजना हुने दुई दिवसीय प्रदेश युवा महोत्सवमा प्रदेशका १३६ वटै स्थानीय तहका करिब चार हजार युवाको सहभागिता रहने प्रदेश सरकारले जनाएको छ ।
युवा महोत्सवबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले मूलधारमा समेटिन नसकेका मधेसका युवाको सीप र दक्षतालाई परिचित गराउन र सम्भावनाका मार्गमा अभिमुखीकरण प्रदान गर्न महोत्सव आयोजना गर्न लागिएको बताए ।
‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवको पहिलो दिन असार १५ गते मधेस मन्थनअन्तर्गत मधेस प्रदेशमा राजनीति, उद्यान, सामाजिक कार्य, पत्रकारिता तथा सरकारी सेवाका विभिन्न क्षेत्रमा अथकरूपमा काम गरेर सकारात्मक परिवर्तन ल्याउन निरन्तर प्रयासरत उदाहरणीय युवाका कथा सुन्ने र संवाद गर्ने कार्यक्रम तय भएको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव ठूलोबाबु दाहालले जानकारी दिए ।