वायुसेवा सञ्चालक संघले घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयप्रति क्षमा माग्दै बुद्ध एयरले आगामी दिनमा उडाननै रोक्ने निर्णयमा आफू सहभागी नहुने बताएको छ ।
अत्यावश्यक सेवाअन्तर्गतको उडान बन्द गर्ने निर्णय यथोचित नभएको भन्दै बुद्ध एयरले आन्तरिक समस्या समाधानका लागि सेवा बन्द गर्नु ठीक नहुने भनेको छ।
‘वायुसेवा कम्पनी, यात्रुहरूको पारवहन सुविधा र कर्मचारीहरूको जीविकोपार्जनको थलो हो । हाम्रो आन्तरिक समस्या समाधान गर्नका लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय होइन,’ बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
आन्तरिक उडानमा दुईवटा अमेरिकी बिचक्राफ्ट र १४ वटा युरोपियन एटीआर विमान गरी १६ वटा जहाज उडाउँदै आइरहेको बुद्धले मंगबलार संघसँग ऐक्यबद्धता जनाउँदै उडान बन्द गर्ने निर्णय गरेको थियो।
मंगलबारको आफ्नो निर्णयलाई आत्मालोचना गर्दै आगामी दिनमा उडान नै रोक्ने निर्णयमा आफू सहभागी नहुने स्पष्ट पारेको हो। ‘आत्मआलोचना गर्दै आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गर्दछौं,’ बुद्ध एयरले भनेको छ ।बुद्धले हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङतर्फ रातिको समयमा क्षमताभन्दा बढी जहाजहरू रहेको जनाउँदै यो सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुने उल्लेख गरेको छ ।
आजको परिस्थितिमा त्यस पार्किङ थलोमा सुधार भएको छ र अहिले १७ वटा जहाजहरूभन्दा बढी रात्रि बिसान हुने अवस्था छ। प्राधिकरणले सोहीअनुरुप काठमाडौंमा रात्रि बिसान हुने जहाजहरूको संख्या बढाउने आश्वासन प्राप्त भएको छ; यसले नेपाली यात्रुहरूलाई उल्लेख्य सुविधा पुग्ने र सबै क्षेत्रलाई आर्थिक लाभ प्राप्त हुने छ,’ बुद्धले भनेको छ ।
यसैबीच बुधबार बिहान ११ बजेदेखि बुद्ध एयरले नियमित उडान सुरू गरिसकेको छ।
अन्य जहाजले ७ बजे देखिनै उडान सुरू गरेको विमानस्थल प्रमुख पूर्ण चुडालले जानकारी दिए।