आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सर्वोच्चमा पेशी

 संवाददाता    २०७९, ३० जेष्ठ सोमबार १०:४५     98 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको छ। सरकारले धिरज प्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि जेठ १७ गते नै अन्तिम सुनुवाइको मिति तोकिएको भए पनि त्यसदिन सुनुवाइ हुन सकेन। अवकाश भइसकेका तीन डीआईजीको मुद्दाका कारण सुनुवाइ प्रभावित भएपछि सार्न नमिल्ने गरी आजलाई पेशी तोकिएको थियो।

यसअघि वैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै जेठ १७ गतेलाई अर्को पेशी तोकेको थियो। १७ गते न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा परे पनि डीआईजीको मुद्दामा म्याद तामेली नहुँदा सुनुवाइ रोकिएको थियो।

सरकारले आफूभन्दा १६ महिना जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल न्याय माग्न सर्वोच्च अदालत पुगेका थिए ।