विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको विषयमा अहिले कुनै तयारी नभएको बताएका छन् । उनले तत्काल वाम गठबन्धनको सम्भावना नभएको बताएका हुन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले कांग्रेस, माओवादी र अन्य के-के दललाई वाम गठबन्धन भनेको हो ? विचार र सिद्धान्त नै नभएका दलहरूलाई वाम गठबन्धन भन्नुको अर्थ नहुने बताए । उनले नेकपा एमाले एकीकृत समाजवादीसँग मिल्ने सम्भावना नभएको बताए । ‘कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाइएको छैन,’ उनले भने, ‘कार्यकर्ताहरू आउन सक्नुहुन्छ, हिजो फुटेका पार्टीका नामका व्यक्तिहरू आज आएर मिल्न सक्ने अवस्था छैन ।’
उनले आफूले गरेको प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्ने हो भने आगामी मङ्सिरमा तोकिने निर्वाचनको मितिलाई पनि प्रतिगमन भन्न सक्नु पर्ने बताए । ‘प्रतिनिधि सभाको नयाँ मिति तोक्नु र नयाँ संसद् बन्नु भनेको प्रतिगमन हैन, अब निर्वाचनको नयाँ मिति तोकिँदातोकिँदै प्रतिगमन हो त ? हैन,’ उनले भने, ‘हिजो देउवा जीले संसद् विघटन गर्नु भयो, चुनाव गर्नु भएन, दरबारमा बुझाउनु भयो, हो त्यसलाई प्रतिगमन भनिन्छ ।’
ओलीले बाबुराम भट्टराईको नेतृत्वको सरकारले संविधान सभा विघटन गरेको भन्दै त्यसलाई पनि प्रतिगमन भनेका छन् । ‘बाबुराम भट्टराई नेतृत्वको सरकारले संविधान सभाको विघटन गर्यो, निर्वाचन गर्न सकेन देश बरालिएको तपाईँहरूलाई थाहा हुनु पर्ने हो, त्यो प्रतिगमन हो,’ उनले भने, ‘त्यसो हुँदा मैले नयाँ निर्वाचनमा जाऊँ भनेर निर्वाचनमा खोज्दा प्रतिगमन हुन्छ भने, अबको निर्वाचन हुने हो भने मङ्सिरमा फेरी प्रतिगमन हुने भयो त ।’
अध्यक्ष ओलीले नेकपा एमाले दोस्रो पार्टी भएकोलाई सामान्य रूपमा लिएका छन् । ‘६ दल एकातिर एमाले एकातिर हुँदा पनि दोस्रो भएको छ,’ उनले भने, ‘अहिले पनि एमाले पपुलर भोटमा अगाडी नै रहेको छ, आगामी निर्वाचनमा नेकपा एमालेलाई नागरिकले अत्यधिक मतका साथ जिताउने छन् ।’ फोटो : फाइल