नेपाल भ्रमणमा रहेका फ्लिनले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै

 संवाददाता    २०७९, २७ जेष्ठ शुक्रबार ०८:५२     77 जनाले पढ़िसके



Spread the love

काठमाडौं : अमेरिकी सेनाको इन्डो प्यासिफिक (प्रशान्त क्षेत्रीय) कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन आज उच्चस्तरिय भेटघाटमा व्यस्त हुने छन्।

 

चारदिने औपचारिक भ्रमणमा हिजो नेपाल आएका फ्लिनलेआज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधामनन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्न लागेका हुन्।

फ्लिनले आज दिउँसो साढे २ बजे राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ताको कार्यतालिका रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। त्यसपछि उनले प्रधामन्त्री देउवासँग अपरान्ह तीन बजे भेटवार्ता गर्ने देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले बताए।

त्यसअघि फ्लिन सैनिक मुख्यालय जंंगी अड्डामा जानेछन्। त्यहाँ उनको सम्मानमा नेपाली सेनाले गार्ड अफ अर्नर प्रदान गर्ने छ। त्यसपछि प्रधानसेनापति शर्मासँग भेटवार्ता हुने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए।

सिलवालका अनुसार उनले सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका गर्ने र नेपाली सेनाका गतिविधिबार जानकारी लिनेछन्। प्रधानसेनापति शर्माले चाल्सको सम्मानमा आज रात्रिभोजको समेत आयोजना गर्दै छन्।

भ्रमण तालिकाअनुसार चार्ल्स भोलि सगरमाथाको आधार शिविर पुग्नेछन्। आइतबार बिहान उनी काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जानेछन्। त्यहाँ तालिम केन्द्रबारे उनलाई ब्रिफिङ गरिनेछ। त्यसपछि उनलाई शिवपुरी लगिने छ। शिवपुरीमा उनले नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीमा रहेका विद्यार्थीलाई सम्बोधन गर्ने छन्। उनी आइतबार नै स्वदेश फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

नेपाल र अमेरिकाबीच कायम रहेको दशकौँ लामो रक्षा सहकार्यको निरन्तरताका रूपमा उनको भ्रमण भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।