आजदेखि राजधानीमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले नेता कार्यकर्ताले पहिचान बिर्संदै जाँदा माओवादी कमजोर भएको बताए।
‘हिजो माओवादी नेता कार्यकर्ता जनताको बीचमा हुन्थे, जनताको सुखदुःखमा सँगै हुन्थे, खेतबारीमा सँगै काम गर्ने हुन्थ्यो, नेता कार्यकर्ता जनताको बीचमा नगएको जस्तो देखिएको छ,’ उनले भने, ‘अब विगतजस्तै जनप्रतिनिधि जनताको सुखदुःखमा सँगसँगै हुनुपर्छ, कम्युनिष्ट क्रान्तिकारी पहिचान कायम होस्, माओवादी सच्चियो, जनताको पार्टी भयो भन्ने हुनुपर्छ।’
माओवादी र संसद्वादी दलहरुबीचको भिन्नता मेटिँदै गएको भन्दै उनले माओवादी हिजोका जति क्रान्तिकारी नभएको भन्ने भान जनतामा परेका बताए। माओवादीले अहिले जितेका १२२ पालिका देशभरको नमूना हुन सक्नुपर्नेमा जोड दिँदै उनले अर्को चुनाव आइपुग्दासम्म देशको विकास गर्ने, जनताको सेवा गर्ने, समाजवाद स्थापना गर्ने माओवादी नै हो भनेर जनतालाई विश्वासमा लिन सक्नुपर्ने बताए।
फेरि एकपटक माओवादीलाई चुनौतीसहित अवसर प्राप्त भएको भन्दै अध्यक्ष दाहालले श्रमलाई उत्पादनसँगै जोड्दै सामाजिक आर्थिक रुपान्तरणमा लाग्न जनप्रतिनिधिलाई दिर्नेशन दिए। नेता नारायणकाजी श्रेष्ठले उत्पादन वृद्धि, सामाजिक आर्थिक समृद्धि हासिल गर्दै समाजवादको यात्रामा स्थानीय सरकार अगाडि बढ्नुपर्ने बताए। शिक्षा विकासको पहिलो शर्त भएको उल्लेख गर्दै उनले शिक्षाका आमुल सुधार गर्ने नीति लागू गर्न आग्रह गरे।
दुई दिनसम्म चल्ने प्रशिक्षणमा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन्। पार्टीका शीर्ष नेता, पूर्वमन्त्री, पार्टीको विभिन्न विभागका प्रमुख एवं संघीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ। अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ।
