मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ । मानापाथी हिमालको फेदीमा संकलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो ।
मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले भने, ‘भिरमा अड्किएको एउटा शव निकाल्ने प्रयास भइरहेकाे छ भने बेपत्ता एक जनाको खोजी कार्य जारी छ । ‘सोमबार नेपाली सेनाको हेलिकोप्टरले १० शव काठमाडौँ लगिसकेको छ’, उनले भने, ‘आज घटनास्थलबाट कोवाङ ल्याइएका शवलाई पनि काठमाडौँ पठाउने तयारीमा छौँ ।’
तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९:५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ ।
करिब १०० नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेका थिए । अरु फर्किए पनि सेना र प्रहरीको १४ जनाको उद्धारको तालिमप्राप्त सुरक्षाकर्मी सानोसरेमा पाल टाँगेर बसेका थिए । घटनास्थल पुगेर फर्किएका स्थानीयवासी इन्द्रसिंह शेरचनले विमानको पखेटा पहाडमा ठोक्किएर तल झरेको बताए । ‘विमान भिरालो पाखोमा ठोक्किएर तल खोंचमा खसेको देखिन्छ’, उनले भने, ‘शवहरू धार परेको डाँडामा वल्लोपल्लो पाखामा छरिएका थिए । केही तल्लो डिलमुनि पुगेका थिए ।’
सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए । उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका थिए । शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो समेत पठाइदिएका थिए